राष्ट्रसेवक सहकारी मोरङले २०८३ जेठ २३ गते शनिवार विराटनगरमा श्रष्टा सम्मान तथा खुला कविता प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । गत बैसाख २३ गते खुला कविता प्रतियोगिता (गद्य र पद्य कविता र गजल)का लागि सूचना प्रकाशित गरेकोमा पूर्व इलामदेखि पश्चिम अछाम जिल्लासम्मबाट जम्मा ५२ वटा रचना दर्ता हुन आएका थिए । सो रचनाहरुलाई नाम थर ठेगाना वा अन्य कुनै पहिचान नखुल्ने गरी कोड गरेर संक्षिप्त सूची (Short listing) लागि प्राज्ञ सहितको तीन सदस्यीय समिति बनाई सो समितिमा पठाएको थियो । ५२ वटा रचनामध्ये २३ वटा रचना वाचनका लागि Short listing गरी प्राप्त भएकोमा जेठ २३ गते वाचनका लागि १५ वटा रचनाकारहरुको उपस्थिति रह्यो। १५ वटा रचना प्रस्तुत भएकोमा सदासय गौतम (जाजरकोट)को “नयाँ युग रच्ने हामी नेपाली” प्रथम, नानुमैया दाहाल (विराटनगर) को “म विर्खे कामी हुँ” दोश्रो, सुशिल पौडेल (कपिलवस्तु; हाल काठमाडौँ) को “मातृभूमिको आव्हान” तेश्रो र निकेश डाँगी विक्षिप्त (गौरादह झापा) को “भान्सा युद्ध” सान्त्वनाको स्थान हासिल गर्न सफल भएका थिए । खुला प्रतिस्पर्धाको निर्णायक मण्डलमा प्राज्ञ विवश पोखरेल, तीला लेकाली र हरी कट्टेल रहनु भएको थियो । खुला कविता प्रतियोगितामा प्रथमलाई रु. दश हजार, दोश्रोलाई रु. सात हजार, तेश्रोलाई रु.पाँच हजार र सान्त्वना रु.दुई हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने, डा. बद्रीविशाल पोखरेल र बसुन्धरा झा सहित तीन जना श्रष्टाहरुलाई सम्मान गरियो । संस्थाका अध्यक्ष श्री जीवन काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ गंगा सुवेदी रहनु भएको थियो । कार्यक्रम संस्थाका सचिव श्री ओमराज सुवेदीले संचालन गर्नु भएको थियो । विराटनगरमा भएको कार्यक्रममा १०० जना भन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रसेवक सहकारी मोरङले गर्यो श्रष्टा सम्मान र खुला कविता प्रतियोगिता कार्यक्रम
•
